काठमाडौं, ११ फागुन । तामाङ फाउण्डेशन नेपालका अध्यक्ष, नेकपा (माओवादी केन्द्र) को पोलिटव्यूरो सदस्य अरुण घिसिङको निर्देशनमा बनेको फिल्म ‘ख्लासी आनिउ’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको पहिलो गीत ‘डिहिरी छार्वा’ सार्वजनिक गरिएको हो ।
तामाङ समुदायको सामान्य जीवनमा आधारित ‘ख्लासी आनिउ’ यही फागुन १७ (शनिबार) बिहान ११ बजेदेखि काठमाडौंको जमलस्थित् राष्ट्रिय नाँचघरमा प्रदर्शन हुने निर्देशक घिसिङले जानकारी दिए ।
कार्यक्रममा फिल्मका निर्माता तथा निर्देशक घिसिङले तामाङ समूदायमा आधारित अहिलेसम्म एक सय ३० वटा फिल्म निर्माण भइसकेको जनाउँदै भने, ‘नेपाली समाजमा तामाङ समूदाय उत्पीडनको समुदाय, यसलाई उजागर गर्न जरुरी छ ।’
त्यस्तै कार्यक्रममा गीतका लेखक तथा फिल्मका नायक ऋतुराज पाख्रिनले गाउँका सामान्य जीवनलाई फिल्ममा उतारिएको स्पष्ट पारे । उनले भने, ‘तामाङ समूदायका उत्पीडनलाई फिल्मको माध्यमबाट उजागर गर्न जरुरी छ ।’
फिल्मका खलनायक बाबुराम ग्याबाले तामाङ समुदायको अवस्थालाई यस फिल्ममार्फत दर्साइएको बताए ।
यो फिल्ममा ऋतुराज पाख्रिन, इन्दिरा वाइबा, निश्चल योन्जन, शुष्मा मोक्तान, राज पाख्रिन, प्रकाश वाइबा, बाबुराम ग्याबा, अनिता नेगी, राजु नेगी लगाएत मुख्य भूमिकामा छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।